कालिकोट, – भाद्र २३ र २४ गते राजधानी काठमाडौंसहित देशका विभिन्न सहरहरूमा भ्रष्टाचार र वेथिति विरुद्ध भएको ऐतिहासिक जनआन्दोलनमा ज्यान गुमाएका सहिदहरूलाई नेकपा (एमाले) का नेता भरतराज धितालले श्रद्धाञ्जली अर्पण गरेका छन्।

धितालले आन्दोलनमा घाइते भएका कालिकोटका पवन शाहीसहित सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, आन्दोलनका क्रममा भएको जनधनको क्षति, निर्दोष नागरिकमाथिको दमन, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड तथा लुटपाटको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
धितालले यस्ता घटनाहरू भविष्यमा पुनः नदोहोरियोस् भन्नका लागि सबै पक्षले संयमता, धैर्य र सामाजिक सद्भाव कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। राजनीतिक संकटको समाधान संविधानसम्मत विधि, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक न्यायको आधारमा खोजिनुपर्ने उनको धारणा छ।
विगतका संघर्षहरूलाई स्मरण गर्दै, उनले २०६६ साल जेठ ३१ गते आफू लगायत नेकपा एमालेका कार्यकर्तामाथि कालिकोटमै भएको आक्रमणलाई उदाहरणस्वरूप उल्लेख गर्दै भने,”हामीले विगतमा पनि विषम परिस्थितिमा विचार र आदर्श गुमाएका थिएनौं, अहिले पनि डर बिना अघि बढ्नुपर्छ।”
उनले स्पष्ट रूपमा जनाएका छन्, “हाम्रो अटूट अडान छ— जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ मा रहेर मात्र देश र समाजलाई सकारात्मक दिशातर्फ डोहोर्याउन सकिन्छ।”
धितालले कालिकोटका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक, भोटर, भातृ संगठन र आम जनसमुदायलाई संयमता, सजगता र एकताको साथ सदैव जनताको पक्षमा अडिग रहन आग्रह गरेका छन्।
अन्त्यमा, उनले भनेका छन्, “सहिदहरूको बलिदान र जनताको विश्वासलाई ऊर्जा बनाउँदै हाम्रो अभियान अझ जनमुखी, सशक्त र निर्णायक बन्छ। यही दृढता, प्रतिबद्धता र आत्मविश्वासका साथ हामी २१औँ शताब्दीको नेपाल निर्माणमा अडिग रहनेछौं