कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ निवासी युवा उद्यमी तिलक धितालले सामाजिक सञ्जालमार्फत भिआइपी संस्कृतिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले एक स्टाटस लेख्दै देशमा परिवर्तनका नाममा दोहोरिँदै आएका व्यवहारप्रति गहिरो निराशा प्रकट गरेका हुन्।
धितालले लेखेका छन् —
“मैले साँच्चै विश्वास गरेको थिएँ — जेन–जेडको आन्दोलनपछि यो देशमा केही परिवर्तन हुन्छ, भिआइपी संस्कृतिको केही हदसम्म अन्त्य हुन्छ। तर अस्ति करिब दुई बजेतिर फेरि उही दृश्य देखेँ — जनतालाई उही अपमान। नक्सालदेखि तालिम केन्द्रसम्मको बाटो ठप्प थियो, सर्वसाधारण घाममा पसिना बगाउँदै उभिएका, तर भिआइपी गाडीहरू कालो सिसाभित्र लुकेर सायरनमा हावा चिर्दै गुडिरहेका थिए।”
उनले जनतालाई अपमानित गर्ने यस्तो व्यवहारप्रति कडा प्रतिक्रिया जनाउँदै लेखेका छन् —
“शासकहरू अझै पनि अहंकारको गाडीमा चढेर जनताको दुःखमाथि दौडिरहेका छन्।”
धितालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तथा शीर्ष नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपाललाई समेत नाम लिएर प्रश्न गरेका छन् —
“जनताको करबाट तलब खाने तपाईंहरूलाई किन उनीहरूकै माथि शासन र दमन गर्न मन पर्छ? जनता नै तपाईंहरूको सुरक्षा हुन्, होइन र?”
अन्त्यमा उनले लेखेका छन् —
“यो देश अझै पनि शक्तिको घमण्डमा कैद छ, र परिवर्तन अझै पनि ट्राफिकमै अड्किएको छ। के आन्दोलन यही सब हेर्नका लागि थियो?”