
कालिकोट, कात्तिक २४ — प्रेस चौतारी नेपाल, कालिकोटको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ। बैठक प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष रमेश कुमार सुनारको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा नेकपा (एमाले)कालिकोटका इन्चार्ज नगेन्द्र शाही (नेसनल) प्रमुख अतिथि रहनु भएको थियो त्यस्तै, प्रदेश सभा सदस्य विशेष अतिथि दक्षिणा शाही, प्रचार–प्रसार विभाग कर्णाली प्रदेश प्रमुख रमेश शाही, नेकपा (एमाले) कालिकोट जिल्ला अध्यक्ष तुलाराज मल्ल, प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रेमराज सिम्खडा लगायतको उपस्थित रहेको थियो ।
बैठकमा संगठन सुदृढीकरण, स्थानीय तहस्तरमा सञ्चारकर्मीहरूको सञ्जाल विस्तार, सदस्यता नवीकरण, आगामी योजनाको कार्यान्वयन, र प्रेस स्वतन्त्रता तथा जिम्मेवार पत्रकारिताका विषयमा गहिरो छलफल गरिएको थियो।
बैठकले संगठनलाई थप गतिशील बनाउने उद्देश्यका साथ प्रदीप धिताल र दिलीप चौलागाईंलाई प्रेस चौतारी नेपाल कालिकोटको सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको जनाएको छ। सो निर्णयले संगठनको गतिविधि अझ सशक्त र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, नेकपा (एमाले) द्वारा भोलि देशव्यापी रूपमा आयोजना हुन लागेको “जनतासँग एमाले अभियान” अन्तर्गतका कार्यक्रमहरूमा प्रेस चौतारी नेपाल कालिकोटले सक्रिय सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको छ। यस अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद, नीति तथा योजना प्रचार–प्रसार, र विकास–सशक्तिकरणका मुद्दाहरूलाई जनस्तरसम्म पु-याउने लक्ष्य रहेको प्रेस चौतारी कालिकोटले जनाएको छ।
अध्यक्ष रमेश कुमार सुनारले बैठकको समापन गर्दै प्रेस चाैतारी नेपाल कालिकोटले संगठन सुदृढीकरण अभियान संचालन गर्ने पत्रकार र सञ्चारकर्मीहरूलाई निष्पक्ष, उत्तरदायी र समाजमुखी पत्रकारिताका माध्यमबाट जनताको आवाज बुलन्द बनाउन आह्वान गर्नुभएको थियो।