“तिलक प्रसाद धितालले उम्मेदवारसमक्ष विकास र नीतिसम्बन्धी १० प्रश्न राखे”

कालिकोट शुभकालिका गाउँपालिका–३ का मतदाता तिलक प्रसार धितालले आगामी संघीय चुनावमा प्रतिस्पर्धा गर्न आएका सबै उम्मेदवारहरूसँग कालीकोटको दीगो विकास र नीति निर्माणसम्बन्धी विषयमा १० प्रश्न सार्वजनिक रूपमा सोधेका छन्।
धितालका अनुसार काठमाडौँबाट कालीकोट फर्केर मतदान गर्न करीब एक हप्तासम्म विदा लिनुपर्ने र करिब ४० हजार रुपैयाँ खर्च हुने हुँदा धेरै मतदाताका लागि मतदान प्रक्रिया झन्झटिलो रहेको छ। यद्यपि उनले यसपालि भावनामा होइन, बुझेर मतदान गर्ने मनसाय राख्दै उम्मेदवारहरूको नीति, योजना र क्षमता बारे स्पष्ट जवाफ आवश्यक भएको बताएका छन्।
धितालले उम्मेदवारहरूलाई दिएको प्रश्नसूची प्रमुख रूपमा शिक्षा, विकास, नीति निर्माण, बजेट व्यवस्थापन, रोजगारी, अन्तर्राष्ट्रिय सहयोग तथा क्षेत्रीय समन्वय जस्ता विषयमा केन्द्रित छन्।

१. उम्मेदवारको शैक्षिक, पारिवारिक र पेशागत पृष्ठभूमि र कालीकोटका लागि विगतमा गरेका कार्यहरू के–के हुन्?
२. संसदमा नीति निर्माण प्रक्रियाबारे कति थाहा छ र आफ्नो विशेषज्ञता कुन क्षेत्रमा केन्द्रित छ?
३. निर्वाचित भएपछि पहिलो १–५ वर्षभित्र कालीकोटका लागि अनिवार्य रूपमा पूरा गर्ने पाँच ठूला र मापनयोग्य काम के हुन्, र त्यसको मूल्यांकन कसरी गर्ने?
४. अन्तर्राष्ट्रिय तहमा नेपालको र कालीकोटको पक्षमा बोल्न परे के विषय उठाउने, र वैदेशिक लगानी तथा परियोजना कसरी भित्र्याउने?
५. संघीय बजेटमा कालीकोटको भाग सुधारका लागि केन्द्रमा मुद्दा कसरी उठाउने र नयाँ रणनीति के अपनाउने?
६. कालीकोटका आजका तीन मुख्य संरचनागत समस्या (जस्तै सडक, रोजगारी, शिक्षा, स्वास्थ्य, बसाइँ सराइ) के हुन् र तिनको समाधान योजना के हो?
७. संघीय, प्रदेश, स्थानीय तह तथा निजी क्षेत्र र दातृ निकायसँग समन्वय गरेर विकासको ब्लूप्रिन्ट कसरी कार्यान्वयन गर्ने?
८. ठूला परियोजनाको समयसीमा, बजेट अनुमान तथा स्रोत जुटाउने मार्ग के हुन्?
९. सडक, बिजुली, स्वास्थ्य र शिक्षामध्ये पहिलो दुई वर्षमा कुन क्षेत्रलाई प्राथमिकता दिने र बाँकीलाई कसरी क्रमिक रूपमा अघि बढाउने?
१०. युवालाई गाउँमै टिकाएर रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, जडीबुटी तथा उद्योगका क्षेत्रमा कति व्यावहारिक योजना छ र यसबारे अध्ययन भएको छ कि छैन?
धितालले कालीकोटका मतदाताले अब नाराभन्दा बढी स्पष्ट नीति, इमानदार प्रतिबद्धता र वास्तविक कार्ययोजना मागिरहेको उल्लेख गरेका छन्। उम्मेदवारको जवाफकै आधारमा भोट दिने निर्णय गर्ने युवाको संख्या बढ्दै गएको उनले बताए।
स्थानीय मतदाताबीच यस्ता प्रश्न सार्वजनिक रूपमा उठिनु कालीकोटमा सचेत मतदान संस्कृतिको विकास हुँदै गएको संकेतको रूपमा लिइएको छ।