
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वाड न ३ सन्जेवाडा गाउँमा अबस्थित भर्ता एग्रो फर्मले व्यावसायिक रूपमा सञ्चालन गरेको स्याउ खेतीले स्थानीयस्तरमा कृषिको नयाँ सम्भावना उजागर गरेको छ। डाँडा–काँडाको सुन्दर भूगोलमा गरिएको स्याउ खेतीमा बोटभरि लटरम्म स्याउ फलेपछि स्थानीयवासी तथा कृषि क्षेत्रमा रुचि राख्नेहरू आकर्षित भएका छन्।

भर्ता एग्रो फर्मका सञ्चालक पवन कुमार धितालको अगुवाइमा गरिएको स्याउ खेतीले गाउँमै कृषि कर्म गरेर पनि राम्रो आम्दानी र आत्मनिर्भरता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने बाध्यतालाई चुनौती दिँदै आफ्नै गाउँको माटोमा मेहनत गरे कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको उनको प्रयासले देखाएको छ।
बोटमा लटरम्म फलेका स्याउले मेहनत, लगनशीलता र निरन्तर प्रयासको सुन्दर परिणाम देखाउनुका साथै भर्ता गाउँको कृषि सम्भावनालाई समेत उजागर गरेको छ। स्याउसँगै अन्य कृषि उत्पादनलाई पनि व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीय उत्पादन बढ्नुका साथै गाउँको आर्थिक गतिविधि र रोजगारीका अवसरसमेत बढ्ने अपेक्षा गरिएको छ।
भर्ता गाउँलाई स्याउ तथा अन्य कृषि उत्पादनको नमुना गाउँका रूपमा विकास गर्न स्थानीय कृषकलाई आवश्यक प्राविधिक ज्ञान, गुणस्तरीय बिरुवा, सिंचाइ, कृषि पूर्वाधार, भण्डारण तथा बजार व्यवस्थापनमा सम्बन्धित निकायको सहयोग आवश्यक देखिन्छ।
पवन कुमार धितालको यो उदाहरणीय प्रयासले भर्ता गाउँका अन्य युवा तथा कृषकलाई पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्न प्रेरणा दिने विश्वास गरिएको छ। उनको स्याउ खेतीको थप विस्तार, व्यावसायिक सफलता र आगामी दिनमा अझ राम्रो उत्पादनका लागि हार्दिक शुभकामना।
हाम्रो माटो, हाम्रो मेहनत, हाम्रो सम्भावना।
भर्ता गाउँ—कृषिको सुन्दर सम्भावना।