
प्लान इन्टरनेशनल नेपाल र मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल) कालिकोटको सहयोग तथा समन्वयमा किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पाँच दिने तालिम सोमबारदेखि सुरु भएको छ।
कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा सञ्चालन भएको तालिममा कालिकोट जिल्ला अस्पतालसहित जिल्लाका तीन स्थानीय तहका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।
तालिममा रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र शान्नी त्रिवेणी गाउँपालिकाबाट स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। कुल २० जना स्वास्थ्यकर्मी तालिममा सहभागी भएका छन्।
किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा, परामर्श, स्वास्थ्यसम्बन्धी अधिकार तथा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागी स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै किशोर–किशोरीलाई गुणस्तरीय र सहज रूपमा यौन तथा प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक विषयमा प्रशिक्षण दिइनेछ।