
कालीकोट — सहकारी संस्थाको व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले कालीकोटको रास्कोट नगरपालिकामा सहकारी व्यवस्थापन समिति तथा कर्मचारीका लागि तीन दिने तालिम सुरु भएको छ।
प्लान इन्टरनेशनल नेपालको सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) र किर्डाक नेपालको सहजीकरण तथा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो।
तालिमको उद्देश्य सहकारी संस्थामा प्रभावकारी सुशासन, वित्तीय व्यवस्थापन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्नुका साथै संस्थागत क्षमता अभिवृद्धि गर्नु रहेको छ। विशेषगरी महिलाको नेतृत्वमा सञ्चालित सहकारी संस्थालाई थप सक्षम बनाउँदै व्यवस्थापन, वित्तीय अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य रहेको पोषण परियोजना कार्यक्रम संयोजक राजेश शाहीले बताए।
तालिममा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा महिलाको नेतृत्वमा सञ्चालित तीन वटा सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको छ।
सहकारी सञ्चालन, निर्णय प्रक्रिया, वित्तीय कारोबार, अभिलेख व्यवस्थापन तथा सदस्यप्रतिको उत्तरदायित्वलगायत विषयमा सहभागीलाई ज्ञान तथा सीप प्रदान गरिने आयोजकले जनाएको छ। साथै सहकारीका पदाधिकारी तथा कर्मचारीलाई आफ्नो जिम्मेवारी, अधिकार र कर्तव्यबारे स्पष्ट पार्दै संस्थाको दीर्घकालीन विकासका लागि योजना निर्माण तथा कार्यान्वयनमा सक्षम बनाउने लक्ष्य राखिएको छ।
तालिमले तीनवटै स्थानीय तहका सहकारीबीच अनुभव आदानप्रदान गर्ने अवसरसमेत सिर्जना गरेको छ। तालिमका क्रममा सहकारी सञ्चालनका क्रममा देखिएका समस्या तथा चुनौती, असल अभ्यास र समाधानका उपायबारे सहभागीबीच छलफल तथा अनुभव आदानप्रदान गरिने जनाइएको छ।
महिलाको नेतृत्वमा सञ्चालित सहकारीलाई आर्थिक रूपमा सक्षम तथा व्यवस्थापनका हिसाबले व्यवस्थित बनाउँदै महिलाको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। सहकारीमार्फत परिवार तथा समुदायको पोषण र जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुर्याउने उद्देश्य पोषण परियोजनासँग जोडिएको छ।
तालिममा हिमचुली कृषि सहकारी संस्थाका पूर्वअध्यक्ष कालीबहादुर महताराले प्रशिक्षण दिइरहेका छन्। महताराले सहकारी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिँदै संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पर्ने व्यवहारिक पक्षमा समेत जोड दिएका छन्।