
कालीकोट । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०८२/०८३ का पछिल्ला आठ महिनामा ८ सय ६१ जना नयाँ क्षयरोगी (टिबी) का बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार प्रदेशका १० वटै जिल्लामा यस अवधिमा नयाँ बिरामीको रूपमा यो संख्या पहिचान गरिएको हो ।
निर्देशनालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार प्रदेशमा क्षयरोगका नयाँ संक्रमित थपिने क्रम अझै रोकिएको छैन । उहाँले अघिल्ला वर्षहरूको तथ्यांक उल्लेख गर्दै आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ७ सय १४ जना क्षयरोगी रहेकोमा २०८१/८२ मा घटेर १ हजार ५ सय ३९ जना भेटिएको जानकारी दिनुभयाे । तर चालु वर्षमा पनि संक्रमणको जोखिम कायम नै रहेको उहाँले बताउनुभ
जिल्लागत तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी बिरामी सुर्खेतमा २ सय ९६ जना फेला परेका छन् भने सबैभन्दा कम हुम्लामा १९ जना रहेका छन् । त्यसैगरी सल्यानमा १ सय ४, जाजरकोटमा १ सय १, रुकुम पश्चिममा ९२, दैलेखमा ८३, कालीकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना नयाँ बिरामी पहिचान भएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हुम्ला, डोल्पा र मुगु जस्ता दुर्गम जिल्लाहरूमा परीक्षण दर कम भएकाले वास्तविक संक्रमित संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । ती जिल्लाहरूमा पहुँच र जनचेतनाको अभावका कारण परीक्षणको दायरा सीमित रहेको जनाइएको छ ।
हाल कर्णाली प्रदेशभर ४ सय १५ वटा क्षयरोग उपचार केन्द्र सञ्चालनमा रहेका छन् । त्यस्तै, दुई वटा एमडीआर (बहु-औषधि प्रतिरोधी) उपचार केन्द्र र १० वटा जीन विशेषज्ञ केन्द्र पनि सञ्चालनमा छन् । तर डोल्पामा भने अझै जीन विशेषज्ञ केन्द्र स्थापना हुन सकेको छैन । माइक्रोस्कोपी सेवा भने ३३ स्थानबाट प्रदान हुँदै आएको छ ।