
कालिकोट: सामाजिक विकास कार्यालय कालिकोट चालु आर्थिक वर्षको वित्तीय प्रगतिमा जिल्लामै पहिलो र कर्णाली प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
कार्यालय प्रमुख अबिराज शाहीका अनुसार नियमित अनुगमन, सरोकारवाला निकायसँगको समन्वय र कार्यक्रमको प्रभावकारी कार्यान्वयनले यस्तो उपलब्धि हासिल भएको हो। भौगोलिक विकटताका बाबजुद कार्यालयले शिक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलक्षित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ।
कार्यालयका लेखापाल बिश्वामित्र उपाध्यायले आगामी दिनमा बजेट खर्चसँगै त्यसको गुणस्तर, पारदर्शिता र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणामलाई प्राथमिकता दिइने बताए।