
कालिकोट । तिलागुफा नगरपालिका–२ रतडास्थित ओखड गाटमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। तिलागुफा नगरपालिका–२ का वडा अध्यक्ष तुलबहादुर बोहराको अध्यक्षता तथा तिलागुफा नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन गरिएको हो।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै रतडा तथा आसपासका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।
पुल निर्माण कार्य सम्पन्न गर्न अहोरात्र खटिने उपभोक्ता समिति, स्थानीयवासी तथा निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने रतडाका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीप्रति नगरप्रमुखले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
स्थानीयवासीको लामो समयदेखिको आवश्यकतालाई सम्बोधन गर्दै निर्माण भएको उक्त झोलुङ्गे पुलले दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा सुविधामा पहुँच सहज बनाउने विश्वास गरिएको छ।