कालीकोट — प्लान इन्टरनेशनल नेपालको सहयोग, हुरेन्डेक-नेपाल को सहजीकरण तथा रास्कोट नगरपालिका को समन्वयमा सञ्चालित सशक्त बालिका परियोजना (GSS) अन्तर्गत रास्कोट नगरपालिका वडा नं. ८ मा शुक्रबार बालविवाह न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम वडा नं. ८ का कार्यवाहक अध्यक्ष रत्ना देवी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने नगर उप–प्रमुख मनिराज बराल, प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी तथा हुरेन्डेक–नेपालका अध्यक्ष गौरीकुमारी शाहीको विशेष आतिथ्यता रहेको थियो। साथै विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बालविवाह न्यूनीकरण तथा बालअधिकार सम्बन्धी चेतनामूलक देउडा गीत, सांस्कृतिक प्रस्तुति तथा सन्देशमूलक कार्यक्रम प्रस्तुत गरिएको थियो। सहभागीहरूले बालविवाह समाजका लागि गम्भीर समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए।
कार्यक्रममार्फत बालबालिकाको अधिकार संरक्षण, किशोरी सशक्तीकरण तथा बालविवाह न्यूनीकरणमा समुदायस्तरबाट थप सचेतना फैलाउने र निर्मुल पारे उद्देश्य राखिएको आयोजकले जनाएको छ।